आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक



काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । चलचित्रको कथावस्तु आर्यन र उपासनाको वरपर फन्को मारेको छ । आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ । खलपात्रको प्रवेशपछि यी दुईको सम्बन्धमा उतारचढाव आउँछ ।

प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ एक्सन र लभस्टोरी जनरामा निर्माण भएको चलचित्र हो । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको यसै चलचित्रमार्फत आर्यन र उपासनाले पहिलोपटक एकअर्कासँग स्क्रिन शेयर गरेका हुन् ।

चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

राजकुमार भट्ट पनि निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् । महेश आर गुप्ताको छायाँकन रहेको चलचित्र सम्पादन बनिश शाहले गरेका छन् ।