कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?



काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् ।

उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज पाएका छन् । उनै बालगायिका घिमिरे यतिबेला एउटा लाइभ दोहोरीका कारण चर्चामा छिन् । उनले गाएको लाइभ दोहोरीलाई लिएर तर्कवितर्कहरु भइरहेका छन् । चार दिनअघि ‘छहारी’नामक युट्युब च्यानलमा कमला र सुमन परियारबीचको लाइभ दोहोरी सार्वजनिक भएको छ । ‘सोल्टी बजार’बोलको गीतको भाकामा गाईएको उक्त लाइभ दोहोरीले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । उक्त लाइभ दोहोरीको सानो क्लीपहरु टिकटकमा समेत भाइरल भइरहेका छन् ।

युट्युबमा उक्त लाइभ दोहोरीलाई सकारात्मक नै प्रतिक्रियाहरु आएका छन् । स्रोता दर्शकहरुले कमलाको शब्द चयन र स्वरको खुलेर प्रशंसा गरेका छन् । यद्यपी, टिकटक एवं फेसबुकमा उक्त लाइभ दोहोरीलाई लिएर विभिन्न तर्कवितर्क भईरहेको छ । उक्त लाइभ दोहोरीबारे किन भयो तर्कवितर्क रु

उक्त दोहोरी मायाप्रेमको विषयमा आधारित छ । जसमा बालगायिकाले मायाप्रेमबारे दोहोरी गाएकी छिन् । सानो उमेरमै उनले चयन गरेका त्यो खालका शब्दहरु सुन्दा धेरैलाई आश्चर्य लाग्छ । सोही सन्दर्भमा सामाजिक संजालमा तर्कवितर्क भइरहेका हुन् । अरू कसैले सिकाएर उनले उक्त दोहोरी गाएको धेरैको आशंका छ । डलरको लोभमा लाइभ दोहोरीमा कलिलो उमेरका बालकलाकारहरूको प्रयोग बढेको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् । उक्त लाइभ दोहोरीको शीर्षक पनि विकाउ राखिएको छ ।
चर्चित लोकगायक राजु ढकालले उक्त लाइभ दोहोरीको प्रसंङ्गलाई लिएर फेसबुकमा स्टाटस् लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्धानले सिकाइदिएको होला कि आफै भनेकी होलिन् भनेर सोँच्दा सोँच्दै निन्द्रै लागेन् ।’

गायिका एवं स्टुडियो संचालक समेत रहेकी जमुना सनमले उक्त लाइभ दोहोरी सुनेर लाज लागेको फेसबुकमा उल्लेख गरेकी छिन् । प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष रहेका लोकगायक रविन लामिछाने फेसबुकमा लेखेका छन् ‘दोहोरी मजाक होइन्, हाम्रो संस्कृति हो ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले उक्त लाइभ दोहोरीप्रति किटान गरेर त स्टाटस् लेखेका छैनन्, यद्यपी लाइभ दोहोरीबारे टिकाटिप्पणी भईरहेको यो अवस्थामा आएको उनको स्टाटसले विशेष अर्थ राख्छ । बिजीले लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’

केही समययता लाइभ दोहोरीमा निकै विकृति देखिएको स्रोतारदर्शकहरूले गुनासो गर्दै आएका छन् ।

डलरको लोभमा लाइभ दोहोरीमा साना साना बालबालिकाहरूको प्रयोग बढेको दोहोरीसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरू नै गुनासो गर्छन् । लाइभ दोहोरीलाई सभ्य र मर्यादित बनाउन नियामक निकायको आवश्यकता रहेको कतिपयको धारणा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.