चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक



काठमाडौँ। पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम सहित निर्माण टिमले चलचित्रको ट्रेलर रिलिज गर्यो ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको चलचित्रले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ । चलचित्रको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ । यो चलचित्र युवा तथा किशोरावस्था उमेर लक्षित छ ।

कार्यक्रममा बोल्दै मुख्य कलाकार सरिता लामिछानेले बर्षौदेखि पर्दा पछाडि रहेर नेपाली फिल्मको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको फिल्ममा मेहनत र सन्देश जोडिएको बताइन् । साथी संगतले एउटा किशोर कुलतमा फस्दा त्यसले सम्बन्धित परिवारमा र उसको जीवनमा निम्त्याउने परिस्थितिलाई चलचित्रले बोकेको उनको भनाइ छ ।

निर्माता विनोद लामाले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ तयार गरेको बताए । कथा लेखक समेत रहेका लामाले सार्वजनिक प्रदर्शनीसँगै च्यारेटी प्रदर्शनीको माध्यमबाट समेत गरि लक्षित वर्गमा फिल्म पुर्याउने र त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । चलचित्रको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको लामाले बताएका छन् ।

नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।