‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !



काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ ।

टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना गरिएको छ । जसमध्ये एउटा टिकटक भिडियो भाइरल समेत भइरहेको छ । १० लाखभन्दा बढी भ्युज पाइसकेको छ उक्त टिकटक भिडियोले । उक्त टिकटक भिडियोमा प्रतिक्रिया दिँदै स्रोता एवं दर्शकहरुले कन्सेप्ट मिल्नु संयोग नभई कपी नै गरिएको आरोप लगाएका छन् ।

भिडियोको कन्सेप्ट साउथ फिल्म ‘सरकारु वारी पाता’मा समावेश गीतसँग मिल्न गएको पाइएको हो । साउथ सुपरस्टार महेश बाबु र कीर्ति सुरेश अभिनित उक्त फिल्मको गीतहरुबाट ‘ए हो र माया’को भिडियो कन्सेप्ट कपी गरिएको स्रोता एवं दर्शकहरुको आरोप छ । उनीहरुले गीत यति राम्रो हुँदाहुँदै भिडियोको कन्सेप्ट बाहिरबाट कपी गर्नु गलत रहेको भन्दै आलोचना गरेका हुन् । साउथ फिल्मको गीतको भिडियोबाट ‘ए हो र माया’मा भिडियो कन्सेप्ट कपी गरिएको हो वा संयोग पर्न गएको हो, त्यो भने सम्बन्धित कलाकारहरु नै जानून् ।

हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । भिडियोमा विमल अधिकारी र सनिशा भट्टराईको नृत्य एवं अभिनय छ । विमल अधिकारीकै शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।

गीतमा ३० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् भने सोमबार साँझसम्म भिडियोले ५५ लाख भ्युज पाईसकेको छ ।

दुई साताअघि गीत युट्युबमा सार्वजनिक गरिएको थियो ।

@madhu_s_pathak #बुद्धभुमि #भैरहवा #रुपन्देही #स्याङ्जा #सेखाम #foryoupage #newspeg ♬ original sound – madhu pathak