गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?



काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया ।
यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज पाइसकेको छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको यस गीतको भिडियोमा बिमल अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । गीतमा शब्द, संगीत विमल अधिकारीको छ भने संगीत संयोजन कमल सौरागले गरेका हुन् ।
विशेषगरी गीतको संगीत पक्षलाई स्रोता दर्शकले असाध्यै रुचाएका छन् । युट्युबमा पनि त्यस्तै प्रतिक्रियाहरु बढी आएका छन् ।

गायक हिमाल सागर पनि गीत चल्नुको मुख्य कारण शब्द, संगीत, संगीत संयोजन र गायन रहेको बताउँछन् । ‘यी चारवटै कुराको कम्बिनेशन एकदमै राम्रो भइदियोजस्तो लाग्छ । जुन स्रोता एवं दर्शकलाई एकदमै युनिक लाग्यो’ उनी भन्छन् ।

यद्यपी, गीत चल्नुमा भिडियोको पनि महत्वपूर्ण भूमिका रहेको गायक सागर बताउँछन् । उनी भन्छन्, ‘भिडियोमा पनि एकदमै मेहनत भएको छ । दुई दिन लगाएर लुम्बिनीमा सुटिङ गरिएको छ । सोहीअनुसार क्वालिटी पनि देखिएको छ ।’

यो गीत यति धेरै चल्नुको मुख्य माध्यम भने टिकटक रहेको कुरालाई नकार्न सकिँदैन् । टिकटकमा चलेसँगै गीतले युट्युबमा भ्युज बढाउँदै लगेको हो ।