नेपाली फिल्मलाई फापेन मंसिर महिना, रिलिज भएका पाँचवटै चलेनन्



काठमाडौं । आम निर्वाचन र विश्वकपको माहोलकाबीच मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए । यद्यपी, कुनैपनि फिल्मले हलसम्म दर्शक तान्न भने सकेनन् ।

बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेत अभिनित ‘चोर र पुलिस’फिल्म प्रदर्शनमा आयो, २ गतेदेखि । तर, प्रदर्शनमा आएको दिनदेखि दर्शकको खडेरी भोगेको फिल्म केही दिनमै हलबाट उत्रियो ।

९ गतेदेखि सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ प्रदर्शनमा आयो । सलोनका साथमा कुशल शाह ठकुरी, शिल्पा थापालगायतको अभिनय रहेको यस फिल्मले पनि हलमा दर्शक तान्न सकेन । यता, रिस्ता बस्नेत अभिनित फिल्मले पनि पहिलो शोबाटै दर्शकको खडेरी भोग्नुपर्यो ।

१६ गतेदेखि प्रदर्शनमा आएको ‘पासो’ अन्ततः केही दिनमै हलबाट उत्रियो । गत शुक्रवारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’को अवस्था पनि उकेदलाग्दो छ । दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको कमब्याक फिल्म ‘सोल अफ द कमाण्डो’ र भोलाराज सापकोटा, नम्रता सापकोटा अभिनित ‘डेसान’ले पनि हलसम्म दर्शक तान्न सकेका छैनन् । यसरी हेर्दा समग्र मंसिर महिना नै नेपाली फिल्मका लागि फापेन ।

मंसिरमा रिलिज भएका पाँचवटै नेपाली फिल्मका निर्माताले पोष्टरको पैसा पनि फिर्ता पाउने देखिँदैन । कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि हलमा कुनै नेपाली फिल्मले दर्शक तान्न सकिरहेका छैनन् ।अब कुन नेपाली फिल्मले दर्शकको साथ पाउँछ त्यो पनि यसै भन्न सकिने अवस्था छैन ।