कतिपय मेला/महोत्सवमा आफूलाई नसोधि फोटो राखेको एलिनाको गुनासो



काठमाडौं । देशभर मेला महोत्सव एवं सांगीतिक कार्यक्रमहरुको सिजन सुरु भएको छ । त्योसँगै विशेषगरी गायक/गायिकाहरुको व्यस्तता ह्वात्तै बढेको छ । मेला महोत्सवहरुमा कलाकारहरुको तस्वीर दुरुपयोग समेत हुँदै आएको छ । कलाकारहरुलाई नसोधी उनीहरुको फोटो पोष्टरमा प्रयोग गरेर प्रचारप्रसार हुने गरेको हो । यो नियतिको सिकार पछिल्लो छिमलकी चर्चित गायिका एलिना चौहान समेत भएकी छिन् । उनले नेपालभित्रका कतिपय कार्यक्रमहरुमा आफूसँग सम्पर्क र छलफल नगरी पोष्टरमा फोटो राखेको पाएकी भन्दै त्यसो नगर्न अनुरोध गरेकी छिन् ।

‘नेपालका कतिपय कार्यक्रमहरुमा म सँग सम्पर्क/छलफल नै नगरी पोष्टरमा फोटो राखेको पाएँ’ चौहानले फेसबुकमार्फत अनुरोध गरेकी छिन् ‘यस्तो गर्नाले म, मेरा दर्शक अनि अन्य आयोजकहरुमा पनि असर पर्छ । यसर्थ आगामी दिनमा मसँग सल्लाह गरेर मात्र पोष्टरमा नाम राख्नुहुन विनम्र अनुरोध गर्दछु ।’

उनले अत्यन्तै व्यस्त भएर कार्यक्रमको समयतालिका मिलाउन हम्मेहम्मे भएको समेत बताएकी छिन् ।