प्रदर्शनको ४१ दिन पार गर्यो ‘महापुरुष’ले, अब ५१ औं दिनको बाटोमा



काठमाडौं । कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हलहरुमा अझै चलिरहेको छ । फिल्मले अहिलेसम्म पनि राम्रै शोज पाईरहेको छ । बुधबार प्रदर्शनको ४१ औं दिन पुरा गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनको सातौं हप्तामा प्रवेश गर्नेछ ।

र, त्यसको केही दिनपछि यो फिल्मले प्रदर्शनको ५१ औं दिन पुरा गर्ने अपेक्षा गरिएको छ । हलमा फिल्महरु एक साता पनि टिक्न गाह्रो परिरहेको अवस्थामा फिल्म ५१ दिनसम्म प्रदर्शन हुनु गौरवको कुरा हो ।

‘वर्ड अफ माउथ’ बलियो भएको र नयाँ आशावादी नेपाली फिल्म नभएका कारण ‘महापुरुष’ हलमा लामो समयसम्म टिकिरहन सफल भएको हो । राजधानीका थुप्रै हलमा अझै फिल्म राम्रै शोजका साथ प्रदर्शनरत छ । राजधानी बाहिरका हलहरूमा समेत फिल्म चलिरहेको छ । सोहीकारण फिल्मले ५१ दिने मनाउने निश्चितजस्तै देखिएको छ ।

अमेरिका, अष्ट्रेलियामा समेत फिल्मले राम्रो व्यापार गरेको छ । रिलिज भएको दिनदेखि दर्शकको उत्साहजनक साथ पाएको फिल्मले चार सातामा नेपालमा १० करोड माथिको कमाई गरेपछि निर्माण टिमले केक काटेर खुशीयाली साटेको थियो ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायतको अभिनय छ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मका निर्माता भने म्याक्स दिपेश खत्री हुन् । प्रदीप भट्टराईले ‘महापुरुष’अघि तिनवटा फिल्म निर्देशन गरेका थिए । ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’ फिल्मले पनि दर्शकको मन जित्दै प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएका थिए ।