‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको हो ?



काठमाडौं । यसवर्षको सफल फिल्म हो, ‘झिँगेदाउ’ । भदौंमा प्रदर्शनमा आएको फिल्मले अप्रत्याशित रुपमा सफलता हात पारेको थियो । यो फिल्म सफल भएसँगै यसको सिक्वेल निर्माण हुने भएको छ । प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको बताए ।

उनका अनुसार यतिबेला महेश दवाडीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । देउजाका अनुसार वर्ष २०८० को बैशाखबाट फिल्मको सुटिङ शुरु गरिनेछ । ‘जहाँबाट ‘झिँगेदाउ’ सकिएको थियो, त्यहीबाट सिक्वेलको कथा शुरु हुनेछ । त्यहीअनुसार यतिबेला कथामा काम भइरहेको छ’ उनले भने ।

साहित्यकार भीमनीधि तिवारीको कथा कृतिमा आधारित रहेर सामाजिक कथामा निर्माण गरिएको ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट लगायतको शीर्ष भूमिका छ । दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि फिल्मको कथालाई बिट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा सुरु हुने देउजाले बताए ।

‘झिँगेदाउ २’ मा पनि ‘झिँगेदाउ’कै मुख्य पाँचजना कलाकारहरूलाई प्रस्तुत गराउने निर्माता एवं निर्देशक देउजाको योजना छ । ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिनुहुनेछ’, उनले भने, ‘तर, पहिले स्क्रिप्ट फाइनल होस् । त्यसपछि मात्र उहाँहरुसँग कुरा अगाडि बढाउँछु ।’

पुराना सफल निर्देशक देउजाले ‘झिँगेदाउ’मार्फत करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए । कमब्याक निर्देशनमा सफलता हासिल गरेका देउजासँग अन्य फिल्महरु समेत पाइपलाइनमा छन् ।