आधुनिक गायकमा दोहोरी मोह, प्रमोदले फेरी गाए लोकदोहोरी गीत


स्टुडियोमा गायक प्रमोद खरेल र गायिका शान्तीश्री परियार
-तस्वीर : प्रमोद खरेलको फेसबुकबाट

काठमाडौं । आधुनिक गायकहरुले लोकदोहोरी गीतमा विरलै स्वर दिने गरेका छन् । यस्तोमा चर्चित आधुनिक तथा पाश्र्व गायक प्रमोद खरेलले फेरी एउटा दोहोरी गीतमा आफ्नो स्वर दिएका छन् । प्रमोदले साढे २ वर्षअघि पहिलोपटक लोकदोहोरी गीतमा स्वर दिएका थिए । गीत थियो, ‘धरोधर्म विद्यानास’ । उनको पहिलो लोकदोहोरी गीत नै स्रोता दर्शकसामु हिट भएको थियो ।

उनले यतिबेला भने लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तीश्री परियारको लयमा एउटा लोकदोहोरी गीत गाएका छन् । गायक प्रमोद स्वयंमले सोमबार उक्त दोहोरी गीत रेकर्ड गराएको जानकारी दिँदै फेसबुकमा तस्वीरहरु शेयर गरेका छन् । उक्त गीतमा प्रमोदसँगै शान्तीश्री स्वयमले स्वर दिएकी छन् । गायक खरेलले शान्तीश्रीको स्वरजस्तै गीतमा लय भर्ने खुबी पनि गज्जब रहेको भन्दै प्रशंशा गरेका छन् ।

प्रमोदले लेखेका छन्, ‘सांगीतिक यात्रामा आज एउटा अर्को दोहोरी गीत रेकर्ड भयो । शान्तीश्री परियार मिठो स्वर की धनी हुन नै, उनको लय भर्ने खुबी पनि उस्तै गज्जव रहेछ ।’ नारायण भुजेलको शब्द, सुदीप सागरको संगीत संयोजनमा उनले स्वर दिएका हुन् । गीतकार नारायण गायिका शान्तीश्रीका श्रीमान हुन् । गीत सार्वजनिक हुन् भने केही समय लाग्ने गायिका शान्तीश्रीले जानकारी दिइन् ।

पछिल्लो समय अन्य आधुनिक गायकहरुले समेत लोकदोहोरी गीतमा स्वर दिने गरेका छन् । स्वरुपराज आचार्यले पहिलोपटक गाएको लोकदोहोरी गीत ‘डाँडाघरे साइँली’ निकै नै चर्चित मानिन्छ । उक्त गीतपश्चात स्वरुपराजको अर्को लोकदोहोरी गीत पनि सार्वजनिक भैसकेको छ । त्यस्तै, अर्का आधुनिक गायक हेमन्त शर्माले स्वर दिएका लोकदोहोरी गीत पनि चर्चित छन् ।