‘बब दाइ’ फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव


काठमाडौं ।आठ वर्षअघि हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठ अर्को फिल्ममा सँगै काम गर्ने भएको छ। उनीहरुले नेवारी संस्कृतिमा आधारित चलचित्र ‘बब दाइ’ निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा मुख्य भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ । अहिले मदनकृष्ण फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेका छन् । महजोडीका अर्का अभिनेता हरिवंश आचार्यलाई प्रपोज गर्ने कि नगर्ने भन्ने निर्णय नभएको निर्माता मानन्धरले बताए । ‘यदि मदनकृष्ण फाइनल भए, हामी हरिवंशलाई पनि प्रस्ताव गर्नेछौं। अन्य कलाकार भने फाइनल भइसकेको छैन,’ निर्माता मानन्धरले बताए । कीर्तिपुरको नेवारी संस्कृतिको कथा प्रस्तुत गर्ने ‘बब दाइ’ कमेडी विधाको हुने बताइएको छ ।

सन् २०१४ मा आएको फिल्म मोक्षबाट प्रवीण अचानक लोकप्रिय निर्देशक बने । आठ वर्षपछि दर्शकले उनको निर्देशनमा बनेको फिचर फिल्म ‘बब दाइ’ हेर्न पाउनेछन् । चलचित्रको छायांकन चैतबाट सुरु हुनेछ ।