सौगात र अनुप बिक्रमको ‘लप्पन छप्पन २’ युट्युबमा



काठमाडाैं | हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पैसा, सत्ता र शक्तिको चलखेलका बिषयबस्तु समेटिएको चलचित्र मुकुन्द भट्टको निर्माण एवं निर्देशनमा तयार ‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठलगायतको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

पटकथा र संवाद समेत निर्देशक भट्ट र सुनिल नेउरेको रहेको फिल्ममा पटकथा अमित शर्माको छ । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन्, भने सह–निर्मातामा राजीव तामाङ लगायत रहेका छन् ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा फिल्म निर्माण भएको हो ।