‘ग्रहण’बाट बाहिरिए विनय श्रेष्ठ : फिल्ममा नायक र कथा हेरफेर


काठमाडौं । राजीव गुरुङ निर्देशीत फिल्म ‘ग्रहण’बाट विनय श्रेष्ठ बाहिरिएका छन् । उनले फिल्मको अन्तिम ड्राफ्ट चित्त नबुझेकाले आफूले प्रोजेक्ट छाडेको बताएको छ । साथै १४ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठलाई फिल्ममा जोडीको रुपमा हेर्ने दर्शकको प्रतीक्षा पनि टरेको छ । केही महिनाअघि भारतको सिक्किमबाट घोषणा गरिएको फिल्म ‘ग्रहण’मा यी दुईले अनस्क्रिन रोमान्स गर्ने बताइएको थियो ।

सन् २००८ मा रिलिज भएको आलोक नेम्बाङ निर्देशित ‘सानो संसार’मा यी दुई पछिल्लोपटक देखिएका थिए । यी दुईक कमब्याक हुने प्रतीक्षामा फ्यानहरु खुसी थिए ।

अब उनको ठाउँमा दिव्यदेव भित्रिने भएका छन् ।निर्देशक राजीव गुरुङले दिव्यदेवलाई प्रस्ताव गरिएको जानकारी दिएका छ । ‘विनयजीको ठाउँमा दिव्यदेवसँग काम गर्ने सहमति भएको छ । यसमा दुवै पक्ष राजी छौं,’ उनले भने । अब कथावस्तुमा बदलाब सहित फिल्मलाई नेपालमा छायांकन गर्ने तयारी छ । पुस १५ गतेपछि फिल्मको छायांकन गर्ने तयारी छ । यो फिल्ममा सारुक ताम्राकारको पनि अभिनय हुनेछ । दिव्यदेवको कुरा गर्दा उनी अभिनित ‘चिसो एस्ट्रे’लाई समीक्षकले रुचाएका थिए भने पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ बक्स अफिसमा असफल रह्यो ।‘रुदाने’ उनको प्रतीक्षित फिल्म हो ।