महजोडीदेखि रामकृष्ण, अन्जु, बुनु,शिवसम्मको आवाजमा प्रेरक गीत ‘आउ साथी’ सार्वजनिक



काठमाडौँ। ​अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान’ भन्ने मूल नारालाई आत्मसात गर्दै चेतनामुलक गीत ‘आउ साथी’ निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ ।

गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार,पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन् । यस गीतले समस्त अपांगता भएका अर्थात विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ । विगत लामो समयदेखि सामाजिक रुपान्तरणका निमिक्त गीत–संगीतको माध्यमबाट योगदान पुर्याउँदै आएको स्टुडियो साउण्ड मिल र समाजसेवी एवं गीतकार नरेश प्रधानको सहकार्यमा म्युजिक भिडियोको निर्माण भएको हो ।

निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडियो विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो । भिडियोमा उषा रजक, रस्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देव कुमार श्रेष्ठ, सविना थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडियोलाई शरद महतोले छायाँकन गरेका हुन् ।