२४ बर्ष पछी राजकुमारको कमब्याक



काठमाडा । सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साग) भइरहँदा शहरका भित्तामा फिल्म ‘द कमान्डो’का पोस्टर छ्यापछ्याप्ती थिए । बलिष्ठ शरीरका राजकुमार राईको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको पोस्टर भित्तामा टाँसिइरहँदा उनी चाहिँ मैदानमा अर्को देशका तेक्वान्दो खेलाडीसँग स्वर्ण पदकका लागि फिनाले प्रतिस्पर्धा गरिरहेका थिए । प्रतिस्पर्धामा उनले स्वर्ण पदकमात्र जितेनन्, उनको फिल्म पनि हिट भइदियो ।

‘द कमान्डो रिलिज र साग सँगै परेको थियो । सागमा मैले तेक्वान्दोतर्फ स्वर्ण पदक पनि जितेको थिएँ । दर्शकलाई फिल्मको हिरो त सागको खेलाडी रहेछ भन्ने थाहा भयो । जसकारण दर्शक फिल्म हेर्न ओइरिए’, हालैको भेटमा राजकुमार २४ वर्षअघि फर्कंदै थिए, ‘नेपालमा फिल्म हिट भइरहँदा मैले देश छाडिसकेको थिएँ । फिल्मको सफलतालाई मैले नजिकबाट अनुभव गर्न पाइनँ । किनकि त्यो बेला म ब्रिटिस आर्मीमा थिएँ ।’

राजकुमार अवकाशप्राप्त ब्रिटिस आर्मी हुन् । सागमा सहभागिता जनाएको ४ वर्षपछि उनले अवकाश पाए । यिनै राजकुमार ‘द कमान्डो’ रिलिजको २४ वर्षपछि ‘सोल अफ द कमान्डो’ मार्फत ‘कमब्याक’ गर्दै छन् । २४ वर्षपछि अभिनय ‘कमब्याक’ कलाकारका लागि चुनौतीपूर्ण रहन्छ । तर राजकुमारको हकमा उनी यसलाई चुनौती मान्दैनन् । ‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । झन् मजा आयो । द कमान्डोपछि मैले अभिनय गरिनँ । पेसागत काममा नै बढी समय केन्द्रित रहेँ । बरु मैले अभिनयको मामलामा पहिलाभन्दा केही परिपक्वता पाएँ’, उनले भने ।

‘द सोल अफ कमान्डो’लाई राजकुमार राष्ट्रियता जोडिएको फिल्म मान्छन् । ‘ब्रिटिस आर्मीमा गोर्खाली सेनाका रूपमा भर्ती भएर जाने सेना किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथा फिल्ममा देखाइएको छ । मेरो बुझाइमा नेपाल छ त गोर्खाली सेना छ । त्यसकारण नेपाल फर्किएपछि नेपालका लागि केही गर्नुपर्छ भनेर यो फिल्म बनाएको हुँ’, राजकुमार खुल्छन् ।

राजकुमार फिल्मले दर्शकलाई आफ्नो पुर्खा सम्झाउने दाबी गर्छन् । ‘पुर्खाको सम्पत्ति भनेको सन्तानको सम्पत्ति हो । घर भत्किएपछि बस्ने बास छैन र पैसा पनि छैन भने त्यो मानिस बाबु, बाजेको जन्मेको घर नै पुग्छ । फिल्ममा त्यही कथा देखाएका छौँ’, उनी भन्छन्, ‘विदेशमा जन्मिएका बच्चाहरू नेपाल भन्नासाथ काठमाडौं मात्र सम्झन्छन् । उनीहरूले देखेको काठमाडौं नै हो । पुर्खाको गाउँ देखेका छैनन् । हाम्रो जीवन गाउँबाट सुरु भएको हो, त्यहीकारण यो फिल्म हेर्ने दर्शकले बाबु, बाजेको पुर्ख्यौली थलो पनि स्मरण गरून् भन्ने मेरो चाहना हो ।’

राजकुमारको भनाइमा २४ वर्षको समय उनले परिवार र पेसालाई दिए । ‘सन्तानको भविष्यका लागि ब्रिटिस आर्मीमा भर्ना भएँ । फिल्म मेरा लागि पार्ट टाइम काम थियो । मैले कलाकारितालाई छेउमा राखेर पेसालाई अगाडि बढाएँ’, राजकुमार खुले, ‘पेसामा सफलता पाएपछि फिल्म त जुनसुकै समयमा बनाउन सकिन्छ नि ! तर त्यो समयमा मैले पेसालाई समय दिन नसक्दा मलाई गाह्रो हुन्थ्यो । त्यसकारण परिवारका लागि पेसामा समाहित हुने निर्णय लिएँ ।’

‘द कमान्डो’का निर्देशक जेबी राई हुन् । उनले आफूलाई सुहाउने भूमिका भएर नै निर्देशक राईले अनुबन्धित गरेको दाबी गर्छन् । ‘म रियल कमान्डो पनि हुँ । फिल्ममा मलाई सुहाउँदो चरित्र थियो । त्यसकारणले पनि जेबीजीले मलाई छनोट गर्नुभयो’, उनी भन्छन्, ‘कमान्डो भन्नासाथ एक्सन नै अगाडि आउँछ । त्यसकारण फिल्ममा हामीले एक्सनलाई नै प्राथमिकतामा राख्यौँ ।’

के प्रेमकथाका फिल्ममा राजकुमारलाई अभिनय गर्न रुची छैन त ? यसमा राजकुमारको आफ्नै बुझाइ छ । ‘आफ्नो दक्षता के हो, त्योअनुसार काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसकारण मैले प्रेमकथाका फिल्ममा चासो दिइनँ । तर मलाई सेन्टिमेन्टल फिल्ममा अभिनय गर्ने मन चाहिँ छ’, राजकुमार भन्छन् । राजकुमारले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दसौँ एसियन खेलकुदमा तेक्वान्दोतर्फ कास्य पदक पनि जितेका छन् ।

यही २३ मङ्सिरमा रिलिज हुने फिल्ममा राजकुमारसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राईको पनि अभिनय छ । युवराज(वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.