पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने


काठमाडौं । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।

पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अब उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो ।

गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेपछि पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भए पनि तनहुँ जिल्ला अदालतमा मुद्धा विचाराधिन छ । पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन पनि गरिसकेका छन् । उनी उच्च अदालतले आफूलाई न्याय दिने आशामा छन् । उनका प्रशंसकहरु पनि उनी निर्दोष ठहर भएर जेलमुक्त भएको हेर्ने प्रतिक्षामा बसेका छन् ।

पल शाहले म्यूजिक भिडियो र फिल्मबाट असंख्य प्रशंसक कमाएका छन् । उनलाई तनहुँ प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहँदा उनको रिहाईको माग गर्दै सडकमा उर्लिएको भीडले पनि त्यो प्रमाणित गर्छ । उनलाई जेलमा पनि फिल्म अफरको कमी छैन । यतिबेला उनी तीनवटा फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताइएको छ । उनले नियमित जिम पनि गर्दै आइरहेका छन् ।