‘सरी मम’को टिजर सार्वजनिक



काठमाडौँ। लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरीता लामिछानेको शुक्रबार परेको जन्मदिनको अबसरमा निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो । निर्माण ब्यानर एनएफआई कृयशनको आफ्नै युट्यूव च्यानल मार्फत फिल्मको टिजर ईन्टरनेट रिलिज गरिएको छ ।

सार्वजनिक टिजरमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित फिल्मको सार्वजनिक टिजरले कुलतविरुद्धको सन्देश बोल्छ ।

यसैबीच निर्माता विनोद लामाले फिल्मको टिजर सार्वजनिकसँगै रिलिज मिति समेत हेरफेर भएको बताए । प्राविधिक कारणबस फिल्मको पोष्ट प्रोडक्सनको काम सम्पन्न नहुने भएपछि पुर्वघोषित मिति मंसिर १५ बाट सरेर फिल्म अब मंसिर २९ मा रिलिज गर्ने निर्णयमा पुगेको निर्माता लामाले जानकारी दिए ।

उक्त मितिमा फिल्म रिलिज हुँदा पनि पुर्वनिर्णय अनुसार नै फिल्म भने एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि पहिलो चरणमा बागमती प्रदेशमा मात्रै प्रदर्शन गरिने निर्माता लामा बताउँछन् । बागमती प्रदेश अन्तर्गतका हलमा सार्वजनिक प्रदर्शनपश्चात फिल्मलाई देशब्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने लामाले बताएका छन् ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।