सुनील शेट्टीले भने : ‘हेरा फेरी ३’मा अक्षय कुमारको विकल्प छैन


ऐजेन्सी । २० वर्ष अगाडिको हिट फिल्म ‘हेरा फेरी’को अब तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसका अघिल्ला दुई श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् ।

‘हेरा फेरी’ सिरिजका मुख्य कलाकार सुनील शेट्टीले भने ‘हेरा फेरी ३’ मा दर्शकहरुले , अक्षय कुमार र परेश रावललाई नै देख्न चाहेकाले अक्षयलाई रिप्लेस गर्न नहुने र अक्षय कुमारको विकल्प नभएको उनको स्पष्ट तर्क छ ।

उनले अक्षयको विना ‘हेरा फेरी ३’ नयाँ अनुभव हुने पनि बताएका छन् । सुनीलले भनेका छन्, ‘फिल्ममा उनको कमी सधैं हुनेछ । अब फाइनल कास्ट के हुन्छ, त्यो हेर्न बाँकी छ । अहिले मलाई फिल्मको बारेमा त्यति धेरै जानकारी छैन । म अलिपछि अक्षय र अन्य व्यक्तिसँग कुरा गर्नेछु ।’ शेट्टीले फिल्ममा अक्षयलाई यथावत् राख्न आफूले दुवै पक्षसँग सकेको पहल गर्ने पनि बताएका छन् ।

‘हेरा फेरी ३’का लागि अक्षयसँग कुरा नमिल्नुको कारण पारिश्रमिक र प्रोफिट शेयर भनिएको छ । अक्षयले फिल्ममा काम गर्न ९० करोड पारिश्रमिक र केही प्रतिशत प्रोफिट शेयर मागेको र त्यो निर्मातालाई स्वीकार्य नभएपछि उनको ठाउँमा कार्तिकको प्रवेश भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, अक्षयले फिल्ममा काम गर्न तयार नहुनुलाई स्क्रिप्टमा दोष देखाएका छन् ।