रेखालाई निडर र हिम्मतवाली भन्दै मनिषाले दिइन् जितको अग्रिम शुभकामना


काठमाडौं । पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भए पनि बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । केही दिनदेखि मनिषा विभिन्न क्षेत्रबाट उठेका राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलोदेखि चुनावी सभासम्म निर्धक्क सहभागी भइरहेकी छन् ।

मंगलवार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रका लागि भोट माग्दै घरदैलोमा हिँडेकी बीपी कोइरालाकी नातिनी मनिषाले बुधवार एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी छन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितका लागि शुभकामना पनि दिएकी छन् ।

रेखाले फेसबुकमा राखेको भिडियोमा मनिषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याती कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

https://www.facebook.com/rekhathapa.net/videos/687361592842277