नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाई’ भोली शुक्रवारबाट रिलिज हुँदै



काठमाडौँ। नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलीबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ ।बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएको हो ।

यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । यसैले, नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो फिल्म नेपाल भित्राउन चासो नदिएको अवस्थामा ट्राभलर्स क्रिउले राम्रो रकक तिरेर यो फिल्मलाई नेपालमा ल्याएको हो ।

फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा यो फिल्म छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

फिल्म वितरण गर्न लागेका राजन पुरीले भने–‘यो बलिउड फिल्म मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको यो फिल्मलाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा यो फिल्मसँग जोडिने निर्णय गरेका हौं ।’

यो फिल्मको बुकिङ नेपालभर खुलिसकेको छ र मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । क्यूएफएक्स चेनले फिल्मका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले फिल्मलाई ४ शोज दिएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज फिल्मका लागि उपलब्ध गराएको छ ।

सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो ।