५ करोडको लागतमा नेपालमा पहिलो पटक एनिमेटेड फिल्म बन्दै


काठमाााडौं । विश्वभरमा कम्प्यूटर एनिमेटेड फिल्मको बजार फैलिँदै गर्दा नेपालमा पनि अब कम्प्यूटर एनिमेटेड फिल्म निर्माण हुने भएका छन् । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’‘चन्द्रागिरी योद्धाहरु’ शिर्षकमा एनिमेटेड फिल्म बनाउन लागेको हो । ‘चन्द्रागिरी वारियर्स’ तयार भए यो नेपालकै पहिलो एनिमेटेड फिल्म हुनेछ ।

‘द लायन किङ’, ‘टोय स्टोरी’,‘मिनियन्स्’,‘फ्रोजन’,‘जुटोपिया’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौंको कमाई गरेका छन् । एनिमेटेड फिल्ममा अन्य फिल्म झैं कथाको पनि आवश्यकता पर्छ भने पात्रहरु कम्प्यूटरको माध्यमबाट एनिमेसन गरिन्छ । यसका लागि समय, जनशक्ति र बजेट उल्लेख्य मात्रामा चाहिन्छ ।

अनुमानित ५ करोडको लागतमा नेपालकै जनशक्तिबाट एनिमेटेड फिल्म बनाउन लागिएको फिल्मका निर्देशक इन्द्र बलामीले जानकारी दिए । उनले भने अहिले हामी प्रि-प्रोडक्सनकै चरणमा छौं । कथावस्तु भने फाइनल भइसकेको छ । अबको एक-दुई हप्तामा क्यारेक्टर डिजाइनको काम पूरा हुनेछ ।’ १५ देखि २० जना जनशक्तिलाई फिल्म तयार गर्न डेढ दुई वर्ष लाग्ने उनको अनुमान छ । फिल्मको सम्पूर्ण एनिमेसनको काम नेपालमा नेपालकै जनशक्तिबाट गर्ने बलामीले जानकारी दिए । फिल्मको लम्बाई ९० मिनेटको हुनेछ । फिल्मलाई विश्व प्रख्यात ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उनको योजना छ । तर, अहिलेसम्म कुनै ओटीटी प्लेटफर्मसँग छलफल नभएको उनले बताए । ओटीटीसँगै फिल्मलाई हलमा पनि रिलिज गरिने बलामीको भनाई छ । उनका ‘अनुसार, फिल्म नेपाली, हिन्दी, नेवारी र अंग्रेजी गरी चारवटा भाषामा बन्नेछ ।