लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर



एजेन्सी। बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा गायिका अनुराधा पौडवाल पनि पर्छिन् ।

टी सिरिजका मालिक गुलशन कुमार अनुराधालाई दोस्रो ‘लता मंगेशकर’ बनाउन चाहन्थे । तर अनुराधाले लता र आशालाई ‘एकाधिकार’को आरोप लगाएपछि उनको करियर ओरालो लाग्यो ।

अनुराधाले सन् ७० को दशकमा गायन करियर सुरुवात गरेकी थिइन् । उनले सन् १९७३ मा रिलिज फिल्म ‘अभिमान’मा पहिलो गीत गाएकी थिइन् । यसपछि पाँच दशकसम्म लगातार उनले हिट गीत दिइन् । बलिउडमा टी सिरिजले उनलाई प्रवेश गराएको थियो । फिल्म ‘हीरो’मा उनले गाएको गीत ‘तू मेरा जानु है’ उनको लोकप्रिय गीतमा पर्छ ।

बलिउडमा एकताका अनुराधा लता र आशाको प्रतिष्पर्धी थिइन् । उनलाई संगीतकर्मीले लताको विकल्पका रुपमा स्थापित गरिरहेका थिए । टी–सिरिजसँगको सहकार्यमा उनले कैयौं ब्लकबस्टर गीत र म्यूजिक एलबम दिइन् । गुलसन अनुराधाको गायनबाट प्रभावित थिए । त्यहीकारण उनलाई दोस्रो ‘लता मंगेशकर’को संज्ञा दिन थाले । तर उनकाविरुद्ध कैयौं अफवाह फैलन थाल्यो, जसकारण उनका करियरमा अवरोध पुग्यो ।

एक पटक अनुराधाले आफूले लताले भन्दा बढी गीत गाएको दाबी गरेकी थिइन् । उनले लता र आशामाथि ‘एकाधिकार’ को आरोप पनि लगाइन् । यो आरोप उनको करियरमा संकटको माध्यम बन्यो ।लता र आशालाई आरोप लगाएपछि संगीतकर्मीहरुले उनको नजर अन्दाज गर्न थाले । यसबाहेक उनले लताले गाएको केही गीतलाई डब गर्न थालेपछि थप विवादमा तानिइन् । उनल लताले गाएको गीत ‘मै तेरी दुश्मन’ डब गराएकी थिइन् ।