तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’



काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ । शुक्रबार आशावादी व्यापार गरेको सिनेमाले शनिबार देशभर हाउसफुलको व्यापार गर्यो । आइतबार अकुपेन्सीमा केहि गिरावट देखिएपनि सोमबारबाट अकुपेन्सी पुन: उकालो लागेको छ । मंगलबार गाई तिहारको दिन अधिकाँस शोज हाउसफुल भएका छन् ।

राजधानीका क्यूएफएक्स, एफक्यूब, बिग मुभिज, आइएनआई सिनेमाजलगायतका मल्टिप्लेक्समा दर्शक चाप उच्च देखिएको छ । पूर्णत मनोरन्जात्मक सिनेमा भएका कारण दर्शकको पहिलो रोजाइ ‘के घर के डेरा’ बनेको छ । ‘ मंगलबारको व्यापार एकदमै राम्रो छ । शनिबारको भन्दा धेरै दर्शक चाप देखिएको छ । शोहरु बढिरहेको छ । आज र भोलिको लागिपनि नाइट शो थपिएका छन् । दिउँसोदेखिका सबै शोज हाउसफुल भैरहेका छन् ।’ निर्देशक खनालले भने ।

यसअघि ‘पशुपति प्रसाद’ र ‘आमा’ जस्तो गम्भीर सिनेमा निर्देशन गरेर सफलता हाँसिल गरेका निर्देशक खनालको ‘के घर के डेरा’लाई दर्शकले मनोरंजनको प्याकेज भनेका छन् । मंगलबार कै रफ्तारमा व्यापार भएको खण्डमा सिनेमाले भाइटिकासम्म लगानी रिकभर गर्ने संकेत दिएको खनालले बताए ।

काठमाडौँमा बस्ने डेरावाल र घरबेटी बीचको कथा भन्ने सिनेमामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद रहेको सिनेमामा शंकर थापा (स्माइल)/कोसिस क्षेत्रीको संगीत, सुर्य ठोकर एक्सन, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्कीको कार्यकारी निर्माण,यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहेको सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।