प्रिमियरमा महको ‘महापुरुष’लाई उत्कृष्ट प्रतिक्रिया



काठमाडौं। आगामी शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार राजधानीमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई चलचित्र देखाएपछि ढुक्क हुन निर्माताले ५ दिन अगावै प्रिमियर राखेका हुन् । प्रिमियरमा चलचित्रले उपस्थित पाहुनाबाट प्रशंसा पाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको सिनेमाले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभाएका थिएनन् । कति आँशु पुस्दै बाहिरिएका थिए भने कोही निःशब्द भएका थिए ।

कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट सिनेमा बनेको भन्दै तारिफ गरे । प्रिमियरभन्दा अगावै सिनेमा हेरिसकेका निर्देशक निश्चल बस्नेतले पनि सिनेमाको प्रशंसा गरे । निर्देशक प्रदीप भट्टराईको अर्को ब्लकबस्टर सिनेमा भन्दै उनले हरेक एक कलाकारको अभिनय सशक्त रहेको बताए । धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा उनले खुसी भाव प्रकट गरे ।

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेर्दा मज्जा आएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘सिनेमामा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । डेब्यु अभिनेता अरुण क्षेत्रीले त फाडिदिएको छ । प्रदीप भट्टराई दाईले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’ अर्की अभिनेत्री बेनिशा हमालले सिनेमा राम्रो मात्र नभइ धेरै राम्रो बनेको भन्दै प्रशंसा गरिन् ।

त्यस्तै, अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई सिनेमा मात्र भन्न चाहिनन् । यो सिनेमाले हरेक मानिसको दिमागमा प्रश्न उठाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो सिनेमा मात्र होइन, बलियो सन्देश बोकेको सिनेमा हो । सिनेमाले प्रश्न खडा गर्छ । बुबा-आमाको सम्बन्ध हामी स्वीकार गर्दैनौं । हामीले यो सही गरेका छौं कि गलत भनेर सिनेमाले प्रश्न उठाउँछ । कलाकारको काम उत्कृष्ट छ ।’

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट सिनेमा भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा सिनेमा नै बनेका थिएनन् । ‘महापुरूष’ले बाको कथा उठाएको छ । सिनेमा अत्यन्त बलियो छ,’ उनले भने, ‘सिनेमामा इमोसन, कमेडी, सन्देश सबै छ । यो सिनेमा बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो सिनेमाले देखाएको छ ।’

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्य ‘महापुरूष’ थ्रि इडियट्स (निर्देशक प्रदीप भट्टराई, निर्माता द्वय रविन्द्र सिंह बानियाँ र म्यास दिपेश खत्री) ले बनाएको बताए । नेपालमा सिनेमा निर्माण गर्नु आफैंमा रिक्स रहेको अवस्थामा यस्तो गम्भीर कथामा सिनेमा निर्माण गर्ने मेकर इडियट नै रहेको कलाकार आचार्यको भनाई थियो ।

आचार्य भन्छन्, ‘सिनेमामा मैले पाएको भूमिका निर्वाह गर्न सकेँ जस्तो लागेको छ । यो टिमप्रति म आभारी छु ।’ त्यस्तै, सिनेमाका कलाकार मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले सिनेमा राम्रो बनेको बताउँदै भोलीका दिनमा पनि सिनेमामा अभिनय गर्ने वाचा गरे । अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् ।

सिनेमाका कलाकार राजाराम पौडेलले आफूले धेरै सिनेमामा काम गरेको भए पनि ‘महापुरूष’लाई लिएर प्रियिमरभन्दा अगाडिसम्म मनमा डर रहेको बताए । ‘मैले धेरै सिनेमामा अभिनय गरे । अरु सिनेमामा अभिनय गर्दा मलाई खासै वास्ता हुँदैन थियो । तर, यो सिनेमालाई लिएर म चिन्तित थिएँ । के हुने हो, कस्तो होला भन्ने लागिरहेको थियो । सिनेमा हेरेँ त्यसपछि म ढुक्क भएँ । सिनेमा ब्लास्ट छ,’ उनले भने ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यू अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आर्शिवाद र छत्रछायाँका कारण सम्भव भएको बताए । यही सिनेमाबाट डेब्यू गरेकी अभिनेत्री अन्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुसी व्यक्त गरिन् । उनी भन्छिन्, ‘मैले देखेको सपनाभन्दा धेरै पाएकोमा आफैंलाई सम्हाल्न गाह्रो भएको छ ।’

मह सञ्चारबाट सिनेमा करियर सुरुवात गरेकका निर्देशक भट्टराईले ‘महापुरूष’ आफ्ना गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा रहेको बताए । उनले भने, ‘यो सिनेमा मेरो गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा दिने सिनेमा हो भनेर धेरैचोटी भनेको छु । सिनेमाले कति व्यापार गर्छ त्यो अलग कुरा हो तर, मेरो मनमा चाहिँ सुपरडुपर हिट भइसकेको थियो ।’

उनले स्क्रिप्ट लेखनको क्रममा आफूहरु कयौं आश्रम र बुबा-आमासँग भेट गरेको स्मरण गर्दै निर्देशक भट्टराईले अगाडि भने, ‘हामी स्क्रिप्ट लेखनको क्रममा कयौं आश्रम गएर बुबा-आमालाई भेट्यौं । उहाँहरुको मुखबाट निस्किएका संवाद धेरै छ सिनेमामा ।’

सिनेमामा रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । षट्कोण आट्र्सको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री रहेका छन् ।