मिस कोशी हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा……



काठमाडौँ। मिस कोशी’ हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा छिन् । मिस कोशी हुँदा उनी ९ कक्षामा पढ्थिन् तर १० कक्षामा अध्ययन गर्नेलाई मात्रै मिस कोशीमा सहभागी गराउने आयोजकले नियम बनाएको थियो । उनले १० कक्षा पढ्दै गरेको कागज बनाएर मिस कोशीको ताज पहिरिएकी थिइन् । मिस कोशीको ताज पहिरिए पछि उनि नेपाली चलचित्र ‘हिरो’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। त्यस पछि उनले थुप्रै चलचित्र बाट सफलताको स्वाद चाखिन्। उनले अभिनय संगै चलचित्र निर्माण र निर्देशनमा पनि हात हालिन्। उनले अभिनय गरेको चलचित्रहरुमा मितिनी,जेठो कान्छो,जीवन रेखा,हामी तिन भाई,क्रोध,नारी,नसिब आफ्नो,बाटुली,शाहारा,किस्मत,बाटो मुनिको फूल,हिम्मत,गङ्गा जमुना,हिफाजत,कसले चोर्यो मेरो मन,अन्दाज,लंका,काली,हिम्मतवाली,काली,रामप्यारी,रुद्रपिया लगाएतका छन्।

चुनावको मिति घोषणा हुनुभन्दा झण्डै १ महिना अघिदेखि मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनावी अभियान थालेकी हुन् । राजनीतिको नयाँ अनुहार भए पनि उनले वर्षाैंदेखि राजनीति गर्ने नेताहरूलाई चुनौती दिइरहेकी छन् । उनले बालबालिकादेखि बुढापाकासम्मलाई भेटेर फोटो खिच्ने गर्छिन् । दिउँसो गरेका भेटघाटका फोटो साझा फेसबूकमा राख्छिन् ।

आफैं सेल्फी खिच्ने, जोसुकैसँग पनि बोल्ने जस्ता गतिविधिले रेखाको माहोल बढाइरहेको बेलबारीका स्थानीय हरिशरण बोगटीले बताए । रेखाले चलचित्रमा जस्तै ३ नम्बर क्षेत्रमा पनि प्रभाव पार्न थालेको हरिशरण बताउँछन् ।

रेखाले सत्ता गठबन्धन र विपक्षी गठबन्धनसँग सामना गर्नुपर्नेछ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा चुनावी मैदानमा छन् भने विपक्षी गठबन्धनबाट नेकपा एमालेका भानुभक्त ढकाल चुनावी मैदानमा छन् ।

मोरङको ३ नम्बर क्षेत्रमा ४ पालिकाका २६ वडा छन् । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वडा मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् । सुन्दरहरैचाका ६, बेलबारीका ८, कानेपोखरीका ४ र पथरी शनिश्चरेका ८ वडा मोरङ–३ मा पर्छन् । यस क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता छन् ।