प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित



पोखरा । गीतकार प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो ।

नगद ५ हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पगेनीलाई प्रदान गरे । सम्मान ग्रहण गरेपछि पगेनीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि आफ्नो सर्वप्रिय विधा गीत नै भएको जनाए । सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा-जाँदा दोबाटोमा’ नामक गीत सङ्ग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।पंगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरुभक्तले जुनसुकै विधामा कलम चलाए पनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । साहित्यका अन्य विधामा जस्तै गीत गरिने ‘प्रयोग’ स्वीकार्य हुनुपर्ने भन्दै उनले गीतको क्षेत्र व्यापक रहेको बताए । नेपाली गीति साहित्यको मौलिकता लोकगीतमै रहेको भन्दै उनले कसैले बनाएको निश्चित ‘फर्म्याट’मा मात्रै गीत लेखिनुपर्ने मान्यताबाट माथि उठ्नुपर्ने बताए ।

साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नुपर्ने अवस्था रहनु बिडम्बना रहेको धारणा राखे । गीतको जननी गीतकार नै भएको भन्दै कुनै गायक/गायिकाको नाम लिएर तिनकै गीत भनिने प्रचलनप्रति असन्तुष्टि राखे । गायक/गायिकाले मञ्चमा गायन प्रस्तुत गरेबापत पाएको पारिश्रमिकको केही अंश गीतकार र सङ्गीतकारलाई पनि दिनुपर्ने उनको माग थियो । गीतकारहरूले पनि गीत रेकर्डका लागि कसैको पाउ पर्ने प्रवृत्तिबाट टाढिएर स्वाभिमानपूर्वक लेखनमा लाग्नुपर्नेमा उनको जोड थियो । गीत गेय विधा भए पनि वाचनकै माध्यमबाट पनि दर्शक/स्रोतालाई रसास्वादन गराउन सकिने भनाइ उनले राखे । स्मरण रहोस्, नेपालमै पहिलो पटक गीतकार प्रतिष्ठानले श्रेष्ठको एकल गीत वाचन सम्पन्न गरिसकेको छ ।