‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी



काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई लिएर आशावादी देखिन्छन् । चलचित्रलाई लिएर आशावादी हुनुका मुख्य कारणहरू भने दुईवटा छन् ।

पहिलो दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तजस्ता चर्चित कलाकारहरूको अभिनय ।

दयाहाङ, विपिन र वर्षाले यसअघि सहकार्य गरेको ‘जात्रै जात्रा’ दर्शकले निकै रुचाएका थिए । यता, सुरक्षाको फिल्म ‘आमा’ पनि निकै रुचाइएको थियो । उनी फ्रान्सको कान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’को ७५औँ संस्करणको ‘रेडकार्पेट’मा उत्रिन सफल पहिलो नेपाली अभिनेत्रीसमेत हुन् । यी चारैजना कलाकारहरूका अभिनय एउटै फ्रेममा हेर्न दर्शकहरू उत्साहित देखिएको पाइन्छ ।

दोस्रो ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता मनछुने चलचित्र बनाएका निर्देशकको नयाँ चलचित्र ।

समाज र मानिसको जीवनसँग नजिक रहेर चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र के. खनालका कारण पनि ‘के घर के डेरा’लाई लिएर थप अपेक्षा छ । यसअघि ‘चिसो मान्छे’ जस्तो मौलिक चलचित्र बनाएका उनको नयाँ चलचित्र कस्तो होला भन्ने चासो पनि दर्शकहरू एवं चलचित्रकर्मीहरूमा देखिन्छ ।

तिहारको छेको पारेर प्रदर्शनमा आउने भएका कारण पनि चलचित्रको व्यापार राम्रो हुने अनुमान गर्न सकिन्छ । चलचित्रले तिहारको ‘फेस्टिभल मुड’ निर्माण गर्ने र व्यापार पनि राम्रो गर्ने आशा निर्माण टिमको छ । अब, चलचित्रको व्यापार कस्तो हुने हो ? त्यसका लागि भने एक साता पर्खनैपर्ने हुन्छ ।

दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको पटकथा तथा संवाद महेश दवाडीको हो । चलचित्रमा दयाहाङ, सुरक्षा र विपिनका अलवा वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । यम ओलीको प्रोडक्सन डिजाइन रहेको चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ।