आमिर खानले १२ दिनसम्म नुहाउन नपाउँदा अनुहारमा रगत र फोहोरको तह जमेपछि..



एजेन्सी। हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएकाछन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आमिर खान हरेक क्यारेक्टरमा प्रवेश गर्छन् ।

‘कयामत से कयामत तक’ होस् वा ‘थ्री इडियट्स’ र ‘दंगल’का हरेक पात्रबाट आमिरले आफूलाई प्रमाणित गरेका छन् । फिल्ममा चरित्र सही ढंगले निभाएकै कारणले उनलाई ‘ मिस्टर परफेक्शनिस्ट’ भनिएको हो।

हुन त सबै कलाकारहरू आफ्नो पात्रलाई पर्दामा ल्याउन कडा मेहनत गर्छन् । आमिर खान पनि इन्डस्ट्रीका यस्तै कलाकारमध्येका एक हुन् । हरेक पात्रलाई आफ्नो उत्कृष्ट शैलीमा निभाएका आमिर खान एक पटक एउटा दृश्य शूट गर्न १२ दिनसम्म ननुहाई बसेका थिए । सुन्दा निकै अनौठो र अचम्म लाग्ने यो किस्सा उनको फिल्म ‘गुलाम’सँग सम्बन्धित छ ।

यो सन् १९९८ को कुरा हो, जब आमिर खानको फिल्म ‘गुलाम’ हलमा रिलिज भएको थियो । यस फिल्मको क्लाइमेक्समा एउटा दृश्य थियो, जसमा खलनायकले आमिरलाई कुटपिट गरेका थिए । यो दृश्यका कारण आमिरको अनुहारमा धेरै रगत र फोहोर जमेको थियो । तर, आमिर दृश्यलाई यति ‘परफेक्ट’ गर्न चाहन्थे कि उनले क्लाइमेक्स सीन पूरा नभएसम्म आफ्नो ‘लुक’ उस्तै राख्ने निर्णय गरे र यसका लागि आमिरले करिब १२ दिनसम्म नुहाएनन् ।

रिपोर्टका अनुसार उनको यो निर्णयका कारण उनले धेरै समस्याको सामना गर्नु परेको थियो । वास्तवमा, आमिर ननुहाई बसेपछि निर्माण टिम नै अलमलमा पर्न थाल्यो, तर उनी दृश्यलाई राम्रोसँग खिच्ने आफ्नो निर्णयमा अडिग रहे र फिल्म रिलिजपछि उक्त दृश्यलाई मानिसहरूले मन पराए ।

आमिर खानले आफ्नो करियरमा एकभन्दा बढी फिल्म गरेका छन् । उनलको ‘दिल है कि मानता नहीं’, ‘जो जीता वही सिकन्दर’, ‘अन्दाज अपना अपना’, ‘रंगीला’, ‘राजा हिन्दुस्तानी’, ‘गुलाम’, ‘सरफरोश’, ‘लगान’, ‘दिल चाहता है’, ‘रंग दे वसन्ती’, ‘फना’, ‘तारे जमीं पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धूम ३’, ‘पीके’, ‘दंगल’, ‘सेक्रेट सुपरस्टार’लगायत हिट छन् ।