दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को अग्रिम टिकट बुकिङ्ग खुल्यो



काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ्ग खुलेको छ । हिन्दुहरुको महान चाड दशैँको अवसर पारेर टिकाको पर्सि पल्ट अर्थात असोज २१ गते शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्रको मल्टिप्लेक्सको अग्रिम बुकिङ्ग सुरु भएको निर्माता किरण नेपालीले जानकारी दिए। कमेडी जनराको चलचित्रले दशैं मानेर रमाइलो गर्न सिनेमा घर पुग्ने दर्शकलाई भरपुर मनोरंजन दिने निर्माण पक्षको दावी छ।

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

दुई साथीको मित्रताको कथामा कमेडी जनरामा यो चलचित्र निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मित्रतालाई देखाइएको छ । चलचित्रमा सौगातको जोडी उपासनासँग बाँधिएको छ भने दयाहाङको जोडीका रूपमा उगेन छिन् । उनीहरूबीचको प्रेमलाई समेत ट्रेलरमा चित्रण गरिएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.