मल्टि स्टारर चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक (भिडियो)


काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रको ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। सम्राट बस्नेत निर्देशित चलचित्रको ट्रेलरमा सस्पेन्स, थ्रीलर, एक्शन तथा सेन्टिमेन्टसको समीश्रण देखिन्छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार सबैलाई समेटिएको छ ।

चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र लगानीमा बनेको यो चलचित्रका निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।