ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौँ। कार्तिक ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को उक्त ट्रेलरले युद्धमा नेपालको तर्फबाट कप्तान वीर बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजविरुद्ध साहसिक लडाई लडेको थियो । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए।

देहरादुन कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। आधुनिक हातहतियार भएको अंग्रेज फौजमाथि बलबहादुर कुँवर नेतृत्वको नेपाली फौजले खुकुरी र स्थानीय हतियारको बलमा बहादुरीपूर्वक लडेको युद्धको फिल्मले कथा पेश गर्छ ।

निर्देशक रिमेश अधिकारीले फिल्म मार्फत अहिले र आगामी पुस्तालाई पिता-पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश दिने बताए । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष फिल्म घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मको गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्मातामा मनोज शाक्य र रिमेश अधिकारी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.