दर्शकसंगको भेटघाटमा उत्साहित बाबरी टिम


रघुनाथ सापकोटा

काठमाडौं। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो ।

दर्शकसंगको भेटघाटमा सिनेमाका मुख्य कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर उपस्थित थिए । आफ्नै आँखा अगाडी चलचित्रका कलाकार देख्दा दर्शकहरुले हुटिङ गरेका थिए । डेब्यु अभिनेता धिरज नाडकरले नेपाली भाषा बोलेरै दर्शकलाई झुमाउन सफल भएका थिए ।

धिरज, अदिति र धिरज नाडकरले चलचित्रका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा नृत्य गर्दा दर्शकहरुले पनि साथ् दिएका थिए । धिरज मगरको अटोग्राफका लागि युवतीहरुले गरेको तछाडमछाड हेर्न लायक थियो । अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शकको पनि कमि थिएन ।

भेटघाटपछि मिडियासंगको वार्तामा अदितिले दर्शकको उत्साहले हौसला मिलेको बताइन । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ । उहाँहरु सिनेमा हेर्नको लागि आतुर रहेको पाएँ । शुक्रबारबाट यस्तै किसिमको माया पाउने अपेक्षा गरेको छु ।’ अदितिले खुसिहुँदै भनिन् ।

अभिनेताद्वय धिरजहरुले पनि सिनेमाप्रतिको दर्शक उत्साहले आफुहरुपनि उत्साहित बनेको बताए । साथै दर्शक साथ् मिल्नेमा आशावादी देखिए । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस रोमान्टिक प्रेमकथाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

सिनेमाको ट्रेलरमा दर्शकले देखाएको माया, हिट गीत ‘बाबरी रंग’, ‘चुलबुल चुलबुल’ र धिरज-अदितिको दोस्रो सिनेमा भएका कारण ‘बाबरी’को चर्चा चुलिएको छ । सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।