पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ पौष २९ मा



काठमाडौं। निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो चरणको कोरोना महामारीपछि छायांकन गरिएको चलचित्रआगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

लभस्टोरी कथामा आधारित चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । ‘तिम्रो मेरो साथ’बाट निर्देशनमा डेव्यु गरेका पौडेल स्वंयमको कथा, गीत र निर्माण रहनेछ । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको चलचित्रमा योगेश काजीको संगीत सुन्न सकिन्छ ।