विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ



काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ ।

विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका नजिकका सिनेमाकर्मीको पनि उपस्थिति छ । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् । उनीहरुको विवाह तामाङ परम्परा अनुसार भएको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् ।

परिवारको माध्यमबाट बुद्दि र अनुको भेट भएको हो । अभिनयमा पारंगत मानिने बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । बुद्दिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जन बढी सिनेमामा अभिनय गरिसकेका छन् ।