‘प्रेम गीत ३’ को डबिङ भर्सनलाई नलाग्ने भयो विकास शुल्क



काठमाडौं। चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी डब भर्सनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएको छ । विदेशी फिल्मको रुपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसंग मन्त्रालयले स्पष्टिकरणसमेत सोधेको थियो ।

बोर्डले १५ प्रतिशत विकास शूल्कका साथै विदेशी फिल्म भन्दै २० हजार रुपैयाँ भन्सार शूल्कसमेत लिने निर्णय गरेको थियो । यसविरुद्ध फिल्म वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । अन्ततः मन्त्रालयले फिल्म हिन्दी भाषामा स्वरांकनमात्रै भएको भन्दै निर्माता र वितरकको पक्षमा निर्णय गरेको हो ।

योसंगै आगामी दिनमा विभिन्न भाषामा डब हुने फिल्मका लागि समेत यही नजिर बस्ने भएको छ । लामो समय विवाद चर्किएकोमा अब भने यो विषय साम्य हुने अपेक्षा गरिएको छ । यो फिल्म भोलि शुक्रवारदेखि विश्वव्यापी रुपमा प्रदर्शन हुँदैछ ।

केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।