असोज २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’ मोफसल टुरमा



काठमाडौं। असोज २८ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले शुक्रबारदेखि मोफसलको प्रचार यात्रा थाल्दैछ । वरिष्ट अभिनेता सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्तद्वा।ा निर्देशित यो फिल्मका मुख्य कलाकारहरुले शुक्रबार बिहान १०ः३० बजे नेपालगंजस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् । त्यसका लागि कलाकारको जम्बो टोलीले शुक्रबार बिहान काठमाडौँबाट उडान भर्नेछ ।

करिब १२ वर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भइ दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको फिल्मको रुपमा दर्शकमाझ आउँदैछ ।

यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकहरुलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालिएको निर्देशक साकारले जानकारी दिएका छन् ।

नेपालगञ्जपछि ‘हिजो आजका कुरा’ को टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर– धरान, इटहरी तथा बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट तथा साँझ ४ः३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा फिल्मका कलाकार सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव, बिनय कुइँकेल, अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् ।

यो फिल्मको प्रचारप्रसारमा भाटभटेनी सुपरमार्केटले साथ दिएको छ । मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन, हेटौँडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

गीत, संगीत तथा टे«लरबाट समेत दर्शकको ध्यान तान्न सफल यो फिल्ममा नेपाली समाजको वर्तमान अवस्था, पारिवारिक आरोह–अवरोह, नेपालीको विदेश मोहलगायतका विविध समसामयिक विषयहरुलाई उठान गरिएको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको यो फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन ।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो फिल्मको वितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.