अशोक शर्मा भन्छन् ‘नेपालमा प्रेम गीत ३ हिन्दी डब प्रदर्शन नगरौँ’



काठमाडौँ। निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब गरेर प्रदर्शन गर्न सुुझाव दिएका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै निर्माता, वितरक एवं अभिनेतालाई अनुरोध गरेका छन्, ‘प्रेम गीत ३’ का निर्माता श्री सन्तोष सेन भाइ, वितरक श्री मनोज राठी र गोविन्द शाही तथा कलाकार श्री प्रदीप खड्का भाइहरूलाई विनम्र अनुरोध छ, नेपालमा उक्त चलचित्र नेपाली, अझ सम्भव भए हिन्दीमा जस्तै देशका अन्य जात–जातिका भाषामा डब गरी प्रदर्शन गरौँ, तर हिन्दीमा नगरौँ ।’

शर्माले हिन्दी डब प्रदर्शन हुँदा यसको दूरगामी प्रभाव हाम्रो भाषा, संस्कृति र क्षेत्रमा पर्ने बताएका छन् । आफूले अनुरोध मात्र गर्न सक्ने भए पनि निर्णय भने चलचित्र टिमको रहेको शर्माको भनाइ छ ।

‘प्रेम गीत ३’ आगामी शुक्रवारदेखि नेपाल र भारतसँगै अन्य विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । भारतमा हिन्दी भाषामा डब भएर प्रदर्शन हुन लागेको चलचित्र नेपालमा भने नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारी छ ।

चलचित्रको हिन्दी डब नेपालमा प्रदर्शन हुन लागेको विषयलाई लिएर यतिबेला तर्क वितर्क भइरहेका छन् । निर्माण टिमले हिन्दी डबले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको छ । यद्यपि, बोर्डले भने हिन्दी डब(संस्करण)को प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ ।

विदेशी चलचित्रले चलचित्र विकास कर बापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता, चलचित्र हलहरूले रातिको शो समेत बन्द गरेका छन् । ‘प्रेम गीत ३’को हिन्दी डब ‘विदेशी’ प्रक्रियाबाटै प्रदर्शनमा आउनुपर्ने र हलले ११ रातिको शो नराखेको भन्दै निर्माण टिम आक्रोशित छ । ‘प्रेम गीत ३’ टिम यतिबेला भने प्रिमियरका लागि मुम्बईमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.