टंक,अशोक र एआरको ‘चौँरीको चाम्रो छुर्पि २’ सार्वजनिक(भिडियो)



काठमाडौँ । दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पि’ को दोस्रो भाग सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर रहेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच प्रमुख अतिथि पुर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गीतको बिमोचन गरे । बिमोचन गर्दै नेम्वाङले गीतले दिएको सन्देशबारे चर्चा गरे । गीतकार एल.पी साँवा लिम्बुले लेखेको शब्दले मन छोएको भन्दै एल.पीको गीत लेख्ने कला आफूलाई यसअघि थाहा नभएको भन्दै तारिफ गरे । गीतमा टंक, अशोक र एआरको काम उत्कृष्ट भन्दै सफलताको शुभकामना दिए ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि यसै गीतका गीतकार तथा झापा क्षेत्र नं ४ का संघिय सांसद एल.पी साँवा लिम्बुले गीत लेखनको समयलाई संमरण गरे । उनले आफूलाई पहिल्यै देखी कविता लेखनमा रुचि रहेको तर गीत पहिलो पटक लेखेको बताए । उनले भने, ‘माया प्रेम र देशभक्तिका गीतहरु बनिरहेको परिबेशमा एउटा पुर्ण देश प्रेमको गीत कमै बनेको पाउँछु । त्यसैले मेरो लेखन त्यता गयो ।’ साथै गीतकार लिम्बुले आगामी दिनमा गीत लेखनको कामलाई अघि बढाउने बताए ।

गीतका गायक तथा संगीतकार टंक बुढाथोकीले ‘चौँरीको चाम्रो छुर्पि २’ बनाउनका लागी गीतकार एल.पी सावा लिम्बुको ठुलो हात रहेको भन्दै अन्य सहयोगी हातहरुलाई पनि धन्यवाद ब्यक्त गरे । साथै बाल गायक अशोक दर्जीको उमेर बढ्दै गएकाले स्वरमा परिवर्तन भएकाले गीत रेकर्डको समयमा केहि समस्या आएको पनि संमरण गरे ।

बाल गायक अशोक दर्जीले आफूलाई गीत गायनका लागी टंक बुढाथोकीले ठुलो साथ दिएको र भोलीको दिनमा पनि टंकको साथमै रहेर अगाडी बढ्ने विश्वास राखे । गीतमा टंक, अशोक र एआरलाई बिक्रम थापाले साथ दिएका छन् । कार्यक्रमको सञ्चालन गोपिकृष्ण चापागाईंले गरेका थिए । यस्तै गीतको भिडियोमा टंक, अशोक र एआरलाई नै देख्न सकिन्छ । भिडियोलाई कबिराज गहतराजले कोरियोग्राफि तथा निर्देशन गरेका हुन् भने सुदिप बरालको सिनेमाटोग्राफर र सन्देश शाहको सम्पादन रहेको छ ।