‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा दुई धिरज संग अदिति



काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए ।

केही दिन अगाडि मात्र २६ औं भाग सफलतापूर्वक सम्पन्न गर्दै केक काटेको यो शोको टिम नेपाली फिल्मका कलाकारहरु र आम दर्शकले देखाएको मायाले उत्साहित छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाख भन्दा बढी पटक हेरिन थालेपछि फिल्मीकर्मीका लागि फिल्म प्रमोशनको हब बन्न थालेको हो । सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी शोमा पुगे ।

नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए । यस्तै, सोमबार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।

शोका संचालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने–‘नेपाली फिल्म क्षेत्रले हामीलाई खुबै माया दिएको छ । विशेषगरि, निर्माताहरुले फिल्म प्रमोशनका लागि एक महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र फिल्म क्षेत्रले दिएको विश्वासले उत्साहित छौं ।’

यो शो असारको अन्तिमसम्म चल्नेछ । एकातिर, फिल्म रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फिल्मकर्मीका लागि हब बन्न थालेको हो ।