सिनेमा हल बन्द गर्ने निर्णय स्थगित



काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो ।

आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।