नेपाल भाषाको चलचित्र ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ। नेपाल भाषामा निर्माण भएको चलचित्र ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ चलचित्रको निर्माता हुन् ।

नेपाल भाषाको पौराणिक कथा उठान गरेको चलचित्रमा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।

‘लाखे आजु’ मा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीको संगीत, भुवन श्रेष्ठको कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना, दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको छ ।