‘निशा घिमिरे स्मृति पुरस्कार’ पवित्रा र उषालाई



काठमाडौँ। अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । उपचारको क्रममा गतबर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो । त्यस्तै, घिमिरेको उपचारमा ५० लाख बढि खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागी रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, बरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिंगमा संघर्ष गर्दा गर्दै दुर्घटनामा पनि शख्त घाईते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक बर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए । मोडलिंगको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिईएको उनले बताए । पुरस्कारको राशी जनही रु. पच्चीस हजार रहेको छ ।

कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरि त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए । उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्दार, उपचार तथा व्यबस्थापन गर्दै आएको बताए । मानिस मात्र नभएर समाजले दु:खमा परेका हरेक प्राणीको हेरचाह गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र बरिष्ठ अभिनेत्री मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानहरुले कलाकारहरु प्रोत्साहित हुने भन्दै कार्यक्रमको प्रशंसा गरे ।