‘झिँगेदाउ’लाई जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने



काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’लाई अब जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने भएका छन् । राजधानीको बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो योजना ल्याएका हुन् ।

आमा र सन्तानबीचको भावनात्मक कथा भनेका कारण बिएसआर मुभिजले ६५ वर्ष माथिका जेष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो । निर्माण पक्षले दिएको जानकारी अनुसार अष्टनारायण पिक्चर्स र शुभकामना हलले प्रदर्शन अवधिसम्म जेष्ठ आमा-बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने छन् ।

शुक्रबार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिबारबाट रफ्तार समातेको थियो । शनिबार अधिकांस हल हाउसफुल भएका थिए । आइतबारदेखि पनि सिनेमाको ट्रेन्ड राम्रो छ । बलियो ‘वर्ड अफ माउथ’ले सिनेमा लामो रेसको घोडा बन्ने संकेत देखिएको छ ।

सिनेमालाई दर्शकको राम्रो साथ् र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन् ।

यस्तै अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसि मिलेको बताइन । दर्शक प्रतिक्रिया राम्रो मिलेका कारण आगामी दिनमा पनि सिनेमाले राम्रो व्यापारको शिलशिलालाई कायम राख्ने आशा व्यक्त गरिन ।

अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन । दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमबार चितवन पुगेकी छन् । उनले त्यहाँ दर्शकसंग साक्षात्कार गर्ने छिन् ।

आमा र छोरा-बुहारीहरुको कथा भन्ने सिनेमामा केकी र आँचलसंगै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।