पुराना कला निर्देशक भट्टराईको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार



काठमाडौँ । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक एवं कलाकार उद्धवराज भट्टराईको निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै शनिवार बिहान निधन भएको हो ।

६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । लामो जुंगाका कारण उनी फिल्म क्षेत्रमा ‘जुङ्गे’ उपनामले चर्चित थिए । भट्टराईले एकसेएक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रूपमा काम गरेका छन् ।

कुनै समय प्रायजसो नेपाली फिल्ममा उनको कला निर्देशन रहन्थ्यो । तर, पछिल्लो समय प्रविधिमा आएको परिवर्तन भएसँगै उनको हातमा कामको भने अभाव थियो । कुशल कलाकारसमेत रहेका भट्टराई ४ दशकदेखि फिल्म क्षेत्रमा सक्रिय थिए । भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् । उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा आजै गरिएको छ ।