‘प्रेमगीत ३’को प्रेसमिटमा बलिउडकर्मीको साथ



काठमाडौँ। असोज ७ देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर लन्च प्रेसमिट सम्पन्न भएको छ । ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, अभिनेताहरु प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी र अभिनेत्री क्रिष्टिना गुरुङ मुम्बई पुगेका थिए । प्रदीप र क्रिष्टिनाले बलिउडकर्मीको स्वागतमा सिनेमाको गीतमा रोमान्टिक नृत्य पस्किंदा माहोल गर्माएको थियो ।

यस्तै सिनेमालाई सहयोग गर्न बलिउड अभिनेता महेश मंजेकर, शिवाजी सतम, निर्देशक अनीस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार एवं गायक पवनदीप राजन, निर्देशक इन्द्र कुमार, प्रेमगीत ३ का भारतीय निर्माता सुवाष कालेलगायत उपस्थित थिए ।

प्रेसमिटमा ‘प्रेमगीत ३’ टिम र आगन्तुक बलिउड पाहुनाले सिनेमाको पोस्टरको घुम्टो खोलेका थिए । ट्रेलर हेरिसकेपछि बलिउडकर्मीहरुले सिनेमाको तारिफ गरेका थिए ।

महेश मंजेकर (बलिउड अभिनेता)

राम्रो लाग्यो ट्रेलर । आशाजनक देखिन्छ । क्षेत्रिय सिनेमाले पनि राम्रो गरिरहेका छन् । हामि तेलुगु हेर्न सक्छौँ । सिनेमाको कुनै भाषा हुँदैन । ट्रेलरमा त्यो देखिन्छ । गीतहरु राम्रो छन् । निर्माता सुवाषले राम्रो गर्नु भएको छ । मेरो बिचारमा सिनेमाले राम्रो गर्नेछ ।

शिवाजी सतम (बलिउड अभिनेता/टेलिभिजन अभिनेता)

सिनेमा इन्टरनेशनल लेभलको बनेको जस्तो लाग्यो । सुवाषको लागि खुसि छ । आशा छ सिनेमाले टिकट झ्यालमा राम्रो गर्नेछ ।

अनीस बाज्मी (भूल भूलैयाँ फेम्ड निर्देशक)

‘हिमायल एकदमै सुन्दर छ । त्यहाँ मलाई सिनेमा खिच्न मन थियो । तर म त्यहाँ कहिले जान सकिन । सिनेमाको लेकेशन एकदमै मन पर्यो मलाई । क्यामेराको काम राम्रो छ । सिनेमाको लूक्स शानदार देखिएको छ । यो सिनेमा राम्रो छ जस्तो लागेको छ । सम्पूर्ण टिमलाई शुभकामना ।

गणेश आचार्य (बलिउड कोरियोग्राफर)

कोरियोग्राफीको मतलब क्षणहरु बनाउनु हो । प्रेमगीत ३ मा त्यस्ता क्षणहरु देखें । ट्रेलर राम्रो लाग्यो । मिहेनत राम्रो लाग्यो । सिनेमा राम्रो चलोस् । शुभकामना छ ।

इन्द्र कुमार (मन, दिल, इश्क फेम्ड निर्देशक)

यो सिनेमा सुपरहिट बनोस् । भगवानसंग प्राथना गर्न चाहन्छु । जसले मिहेनत गर्नु भएको छ । उहाँहरुलाई सफलता मिलोस् । सम्पूर्ण टिमलाई शुभकामना ।

‘प्रेमगीत ३’को हिन्दि भर्सन गीतमा संगीत दिएका पवनदीपले अवसरको लागि धन्यवाद व्यक्त गरे ।

प्रेसमिटमा बोल्दै प्रदीप खड्काले भारतीय दर्शकको मनमा बस्नलाई आफ्नो टिमले हिन्दि भाषामा बोलिरहेको बताए । ‘अन्तर्राष्ट्रिय मंचमा बोल्दा हामि अंग्रेजी प्रयोग गर्छौं । जसको कारण हामि धेरै अडियन्ससम्म पुगौंला । तर, हिन्दि बोल्दा हामि मनसम्म पुग्छौँ । त्यसैले राम्रो अंग्रेजी भन्दा हाम्रो लागि ठुटे हिन्दि नै उत्तम छ ।’ प्रदीपले भावनात्मक रुपमा जोडिने प्रयास गरे ।

प्रदीपले हिन्दि सिनेमा र टेलिसिरियलबाट अभिनेता बन्ने सोख पालेको बताए । ‘हामि नेपाल हिन्दि भाषा संस्कृतिलाई पच्छ्याउछौ । जस्तो समुन्द्रको पानि बाफ बनेर हिमायलमा पुग्छ । अनि नदि बन्दै फेरि समुन्द्रमा मिसिन्छ । त्यसरी नै हामि यहाँसम्म आयौँ । तपाईहरुको साथ् र सहयोग चाहिएको छ ।’ प्रदीपले भने ।

निर्माता एवं निर्देशक सन्तोष सेनले आफुहरुले त्यस बेलाको गरेको दु:खले यतिबेला खुसि मिलेको बताए । ‘सुरुवातमा त नेपाल कै लागि सिनेमा बनाएका थियौँ । हिमालयमा १ सय २० दिन बढी छायांकन गर्यौं । सुभाष सर र मुरली सर उहाँहरुले मुम्बईसम्मको यात्रा तय गर्नमा सहयोग पुर्याउनु भयो । धन्यवाद उहाँहरुलाई ।

अभिनेता सुनिल थापाले छायांकनका क्रममा गरेको दु:ख र त्यहाँको चिसोले निम्त्याएको समस्या सम्झिए । ‘तपाईहरुलाई सिनेमाको दृश्यले लोभ्यायो । तर हामीले माइनस २९ डिग्रीमा सिनेमा खिचेका थियौँ । त्यतिबेला त्यहाँका स्थानीयहरुपनि तल्लो भेगमा झरिसकेका थिए । सन्तोष जीले त्यस्तो ठाउँमा कुनै कुरा कमि हुन् दिनु भएन । भारतीय दर्शकको लागि हिमालयको एउटा सुन्दर उपहार ल्याएका छौँ । आशा छ सबैलाई मन पर्नेछ ।’ अभिनेता थापाले भने ।

अभिनेत्री क्रिष्टिना गुरुङले आफ्नो पहिलो सिनेमाले नै यति ठुलो हाइप पाउला भनेर नसोचेको बताइन ।

सेनसंगै स्वर्गीय छेतेन गुरुङको निर्देशन रहेको सिनेमामा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।