ज्ञानेन्द्र देउजाको ‘झिङ्गे दाउ’ र सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गे दाउ’ र सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ ले प्रदर्शन प्रारम्भ गरेका हुन्।

चलचित्र ‘झिंगेदाउ’मा केकी, मुकुन, आँचल र कुशलका साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । भीमनिधि तिवारीको कथा कृतिमा आधारित चलचित्रको पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रले दुई मिलनसार दाजुभाइको विवाहपछि हुने पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित चलचित्रमा विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको द्धन्द्ध र मित्रदेव गुरुङको सम्पादन छ । शुलभ प्रतिक देउजा र समीक्षा देउजा चलचित्रको निर्माताका रुपमा छन् ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको ९० प्रतिशत सुटिङ बेलायतमा भएको हो । अमित बस्नेत, अजित केआर थापा र परी राणा निर्माता रहेको चलचित्रलाई सौरभ लामाले छायाँकन, अर्जुन जिसीले सम्पादन गरेका हुन् ।