पोर्चुगलको ‘वृहत तिज विशेष साँस्कृतिक कार्यक्रम’ मा भण्डारीले नचाए दर्शक



काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली नारी समाज, पोर्चुगलले ‘वृहत तिज विशेष साँस्कृतिक कार्यक्रम’ सम्पन्न गरेको छ । लिस्वनको मुटु मानिने मार्टिम मुनिज पार्कमा चर्चित कलाकारहरुको साथमा कार्यक्रम सम्पन्न गरेको हो । लोकदोहोरी गायक भगवान भण्डारी, गायिका देविका केसी, गायक जेबी ओली,गायिका हिरा थापाको साथमा पोर्चुगलमा रहेका नेपालीहरुको उलेख्य उपस्थिति रहेको थियो ।

कोरोना कहरले गर्दा २ वर्ष पार्कमा कार्यक्रम गर्न नपाएता पनि पुनः यो वर्ष पार्कमा गरिएको समाजले जनाएको छ । पोर्चुगलमा पहिलो पटक पार्कमा कार्यक्रम गर्ने शुरूवात नेपाली नारी समाजले गरेको का.वा अध्यक्ष गिता रेउलेले जानकारी दिईन् । मौलिक कला सँस्कृतिको संरक्षण गर्दै मौलिकतालाई जोगाउदै आइरहेको समाजले हरेक वर्ष तिजलाई वृहत् तरिकाले मनाउदै आइरहेको छ ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि परम्परा संरक्षण गर्नको लागि कार्यक्रम गरिएको समाजले जनाएको छ । पोर्चुगलमा रहेका नेपाली दिदिबहिनीको माइतीको आँगन बन्दै आइरहेको नेपाली नारी समाजले गरेको कार्यक्रममा करिव १ हजार नेपाली तथा विदेशीहरुको सहभागिता रहेको समाजकी महासचिव पुनम गौतमले जानकारी दिईन् ।

त्यस्तै हरेक वर्ष जस्तै यसवर्ष पनि समाजले ३ जना आमाहरुलाई खादा लगाएर सम्मान गरेको थियो । ८५ बर्षिय आमा नाङसाङ गुरुङ प्रमुख अतिथी रहनु भएको औपचारिक कार्यक्रममा पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन दुत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ युरोप शाखाका युवा उप-संयोजक रोवर्ट लिम्बू, एन आर एन पोर्चुगलका अध्यक्ष रबिन अधिकारी,जनजाती महासंघका अध्यक्ष- हेम गुरुङ,पुर्व आइसिसि सदस्य सफल व्यवसायी तथा समाजसेवी नरेन्द्र हमाल, एन आर एन ए का भुतपुर्व अध्यक्ष तथा सफल व्यवसायी लक्ष्मीप्रसाद सापकोटा, सूचना तथा सञ्चार विभागका केन्द्रिय सदस्य चिजकुमार तामाङ लगायत पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।