‘प्रकाश’ हेर्न ओइरिए दर्शक, शनिबार अधिकांश शो हाउसफुल [तस्वीर/भिडियो]



काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको दोस्रो दिन राजधानीका धेरै हलमा चलचित्रको अधिकांश शो हाउसफुल भएका छन् ।

माउथ पब्लिसिटीमा अब्बल साबित भएका कारण चलचित्र हेर्न दर्शकको संख्या उत्साहजनक देखिएको हो । शनिबार अभिनेता प्रदीप खड्का केही हलहरुमा समेत पुगेका थिए । जहाँ उनलाई देखेपछि दर्शकहरु तालीका साथ हुटिङ समेत गरेका थिए । शनिबार उपत्यका बाहिर दर्शकको उपस्थिति उत्साहजनक रहेको बताईएको छ । आइतवारदेखि अझै दर्शक हलसम्म पुग्ने बिश्वास निर्माण टिमको छ ।

अधिकांश हल संचालकहरुले ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् । चलचित्र हेरेका अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा चलचित्रले पेश गरेको छ । बर्गीय विभेदको कुरा पनि चलचित्रमा उठाइएको छ ।

विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे लगायतको शीर्ष भूमिका छ । शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को चलचित्र ‘राधा’मा पनि शनिबार दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।

धेरैपछि नेपाली चलचित्र हेर्न हलमा देखिएको दर्शकको चाप सामाजिक सञ्जालमा समेत छाईरहेको छ । धेरैले दर्शकको उत्साहजनक उपस्थिति देखेपछि खुशी व्यक्त गरेका छन् ।