‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक



काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो ।

‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विष्णु भण्डारीको शब्द रचना, सरोज पोखरेलको संगीत रहेको यस गीतमा प्रताप दासको स्वर छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ प्रस्तुत छन् । मुस्ताङमा जाडोयाममा खिचिएको गीतमा हिमपातको लोभलाग्दो दृश्यहरु समावेश गरिएको छ । भिडियोमा प्रदीप र क्रिष्टिना प्रेमिल मुद्रामा छन् ।

यता, निर्माण टिमले बिहीबार नै हिन्दी भर्सनको गीत ‘जी म्युजिक कम्पनी’ मार्फत सार्वजनिक गरेको हो । केही दिनअघि निर्माण टिमले चलचित्रको हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थियो । जसमा समावेश चार गीतहरुमध्ये ‘कोइ न कोइ नाता हैं’ शीर्षकको गीत भिडियोसहित सार्वजनिक गरेको हो । जसमा चर्चित भारतीय पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको संगीत रहेको गीतमा रुबी फुलारा र सुभाष कालेको शब्द रचना छ । हिन्दी भर्सनको गीतमा नेपाली भर्सन ‘मायाको गाउँ’गीतकै दृश्यहरु छन् । दुबै भर्सनमा नेपालको सुन्दरता राम्रोसँग झल्किएको छ । भिडियोका दृश्यहरु निकै लोभलाग्दा छन् ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको ‘प्रेमगीत ३’ हिन्दीमा डब गरेर भारतमा प्रदर्शन हुन लागेको पहिलो नेपाली चलचित्र हो । चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, पुश्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, क्रिजन गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । चलचित्र यतिबेला सर्वाधिक चर्चामा छ ।

चलचित्र बडा दशैंको अवसर पारेर आउँदो असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.