कस्तो छ ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत ?



काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘सम्हालिन्छ कहिले मन’बोलकै गीत सार्वजनिक गरिएको हो । यो सुगम पोखरेलको १० वर्षअघिको सुपरहिट गीत हो । सोही गीतमा यतिबेला चलचित्र बनेर प्रदर्शनको क्रममा छ । सार्वजनिक गीतमा पनि पोखरेलकै स्वर छ । जेम्स प्रधानकै संगीत रहेको गीतको शब्द रचना सुयश भट्टराईको हो ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र डेब्यू अभिनेता सोनम तोप्देन फिचर्ड छन् । चलचित्रको कथावस्तु र कथाको घटनाक्रम यही गीत वरपर फन्को मारेको बुझ्न सकिन्छ । गीतले पुरानै गीतको झल्को दिलाउँछ । भिडियोका दृश्यहरु एकदमै सुन्दर छन् । महेश दवाडीको लेखन रहेको चलचित्र भदौं १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रमा सरोज खनाल, धीरेन शाक्य र गौरी मल्लको समेत मुख्य भूमिका छ ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले चलचित्र निर्माण गरेको हो । अमित बस्नेत, अजित केआर थापा र परी राणा निर्माता रहेको चलचित्रलाई सौरभ लामाले छायाँकन, अर्जुन जिसीले सम्पादन गरेका हुन् ।